काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीबीचको पाँच खेलको टी–२० आई सिरिज आजदेखि शुरू हुँदैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरू हुनेछ।
यसै सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।मलेसियासँगको सिरिजबाट राष्ट्रिय टिमकी सिनियर खेलाडी सीता राना मगरले पुनरागमन गर्दैछिन्।
५ खेलाडी परिवर्तन गरिएको सिरिजमा सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामीले टिममा स्थान बनाएका छन्।
ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा र मनिषा उपाध्यायले यस पटक टिममा स्थान बनाउन सकेनन्।
सिरिजअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिज खेलेका थिए।
उक्त प्रतियोगिताको उपाधि साउदर्न जाग्वार्सले जितेको थियो। जाग्वार्समा नेपाली खेलाडी रुविना क्षेत्री, सोनु विष्ट र पूजा महतो सामेल थिए । सीता रानामगरको नेतृत्वमा रहेको सेन्ट्रा सुपर गर्ल्स उपविजेता बनेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान पूजा महतो प्लेयर अफ दी सिरिज बनेकी थिइन् भने नोर्थर्न क्विन्सकी कविता कुँवर उत्कृष्ट ब्याटर घोषित भएकी थिइन्।
यस प्रतियोगितामा नेपाली स्क्वाडमा रहेका सबै १४ खेलाडीले फरक–फरक पाँच टोलीबाट खेलेका थिए।
नेपाली महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसिया भ्रमणमा गएको हो।
Comment