जेनजीका नाममा भोटेकोशीको निःशुल्क सेयर मागिएको भन्दै निजी क्षेत्रले गुहार्‍यो गृह र ऊर्जामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हाल जलविद्युत आयोजनाहरूमा बढ्दो अवरोध र सुरक्षाको खतरा देखिँदै गएको भन्दै गृह मन्त्री र ऊर्जा मन्त्रीलाई तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका परियोजनामा गैरकानूनी रुपमा १० प्रतिशत निःशुल्क सेयर माग्ने र अवरोध गर्ने गतिविधि तीव्र भएको कारण सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन्।

पत्रमा ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक समृद्धिका लागि प्रमुख आधारस्तम्भको रूपमा व्याख्या गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ।

विशेषगरी सिन्धुपाल्चोकको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना १७ दिनदेखि बन्द रहेको उल्लेख छ। भोटेकोशी गाउँपालिकामा “जेन्जी ग्रुप” नामक समूहले १० प्रतिशत निःशुल्क सेयर माग गर्दै विद्युत गृह सञ्चालन रोकेपछि दैनिक करिब ९८ लाख रुपैयाँ बराबरको विद्युत राजस्व गुमिरहेको र अहिलेसम्म १६ करोडभन्दा बढी घाटा भइसकेको इप्पानले जनाएको छ। साथै, विद्युत गृह बन्द भएपछि आवश्यक मर्मतसम्भार र अनुगमनसमेत रोकिएकोप्रति इप्पानले गम्भीर ध्यानाकर्षण गराएको छ।

त्यस्तै, सिन्धुपाल्चोककै जुगल गाउँपालिकामा पनि १० वटा आयोजनासँग निःशुल्क सेयर माग्दै पत्र पठाइएको र अन्य जिल्लामा समेत यस्ता अवरोधका घटना बढिरहेको भन्दै इप्पानले शान्ति–सुरक्षा कायम गर्न सरकारसँग माग गरेको छ।

इप्पानले पत्रमा भनेको छ, “आयोजनामा हुने अवरोधले लागत र समय दुवै बढाउने मात्र होइन, निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निरुत्साहित बनाइरहेको छ।”

हालका वर्षहरूमा जलविद्युत आयोजनामाथि आक्रमण, तोडफोड, आगजनीजस्ता गतिविधि बढ्दै गएको उल्लेख गर्दै इप्पानले निजी लगानी असुरक्षित बनेको चेतावनी दिएको छ। साथै, स्वदेशी र विदेशी लगानीकर्ताको लगानी सुरक्षित गर्न दीर्घकालीन दृष्टिकोणसहित छुट्टै ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।