काठमाडौं । लगातार दुई कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । मंगलबार नेप्से सूचक ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको थियो ।
गत साता बिहीबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेर १६० अंकको भारी गिरावट आएको थियो । त्यसपछिका दुई दिनमा बजारले तीव्र सुधार देखाएको हो ।
मंगलबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
मंगलबार २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बजारमा पुनः सकारात्मक संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।
Comment