नक्कली शरणार्थी प्रकरणको अनुसन्धानकर्ता एआईजी डा. मनोजकुमार केसी सीआईबी प्रमुखमा सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ। हालसम्म प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको नेतृत्व गरिरहेका केसीलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

सीआईबीको नेतृत्व यसअघि चन्द्रकुवेर खापुङले गर्दै आएका थिए। खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि सीआईबी प्रमुखको पद खाली थियो। पूर्व सरकारको पालामा उक्त पद लामो समयसम्म रिक्त राखिएको थियो।

डा. केसी यसअघि पनि सीआईबी प्रमुखको भूमिकामा रहिसकेका अनुभवी अधिकृत हुन्। भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय भूमिका खेलेका कारण उनलाई राजनीतिक प्रभावका कारण पछिल्लो सरकारले भूमिकाविहीन बनाएको भन्ने आरोप लाग्दै आएको थियो। त्यही सन्दर्भमा उनलाई एआईजी बढुवामा समेत पछि पारिएको चर्चा थियो।

अब भने भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागबाट हटाएर उनलाई पुनः प्रहरी संगठनको संवेदनशील र अनुसन्धानमूलक निकायको नेतृत्वमा ल्याइएको हो।

हाल नेपाल प्रहरीमा चार जना एआईजी कार्यरत छन् – डा. मनोजकुमार केसी, राजन अधिकारी, दानबहादुर कार्की र सिद्धिविक्रम शाह। केही दिनअघि मात्रै एआईजी कार्कीलाई मानव स्रोत विकास विभागबाट काठमाडौं उपत्यका प्रहरी प्रमुखमा सरुवा गरिएको थियो। अझै पनि आधाभन्दा बढी एआईजी पद रिक्त रहेकाले संगठनका धेरै महत्त्वपूर्ण विभागहरू नेतृत्वविहीन छन्।

सरकारको पछिल्लो निर्णयले संगठनमा प्रभावशाली नेतृत्वको पुनर्संरचनाको संकेत दिएको विश्लेषण गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।