उपत्यकामा घरजग्गा किनबेच सुस्तायो, किन घटिरहेको छ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । देशभरको घरजग्गा कारोबार फेरि सुस्ताएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा घरजग्गा खरिदबिक्रीमा १३.०५ प्रतिशतले गिरावट आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, गत साउनमा देशभरका मालपोत कार्यालयमार्फत ३१ हजार ६२१ वटा घरजग्गा कारोबार भएको थियो भने भदौमा त्यो संख्या घटेर २७ हजार ४९४ मा झरेको छ।

गत वर्षको भदौ महिनामा भने ३२ हजार ७९८ वटा कारोबार भएको विभागको तथ्यांकमा उल्लेख छ। चालु आवको साउन र भदौ महिना गरी जम्मा ५९ हजार ११५ वटा घरजग्गा किनबेच भएका छन्। कारोबारको गिरावटसँगै राजस्व संकलनमा पनि कमी आएको देखिन्छ। साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ संकलन भएकोमा भदौमा घटेर ३ अर्ब १४ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

विभागका अनुसार भदौ महिनामा सबैभन्दा बढी कारोबार इनरुवा, सुनसरीमा भएको छ, जहाँ १ हजार ४०२ वटा लिखत पारित भएका छन्। त्यसपछि जनकपुरधाममा १ हजार ६०, भद्रपुर झापामा १ हजार २७, राजविराज सप्तरीमा ९३७, भक्तपुरमा ९१८, बेलबारी मोरङमा ८९३, सिराहा ६८९, मलंगवा सर्लाही ६२६, लगनखेल ललितपुरमा ६२० र लाहान सिराहामा ६१८ वटा कारोबार भएका छन्।

राजस्व संकलनमा काठमाडौं उपत्यकाका कार्यालयहरूको योगदान उल्लेखनीय रहेको छ। भदौमा सबैभन्दा धेरै राजस्व लगनखेल ललितपुरबाट ३५ करोड २३ लाख रुपैयाँ उठेको छ। त्यसपछि भक्तपुरबाट २८ करोड ४२ लाख, चावहिल काठमाडौंबाट २६ करोड ९८ लाख, डिल्लीबजारबाट २२ करोड ९० लाख र कलंकीबाट २२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

विभागले कारोबार घट्नुको प्रमुख कारण कित्ताकाट प्रक्रिया रोकिएको हुनुले देखाएको छ। स्थानीय तहहरूले हालसम्म जग्गा वर्गीकरणको काम सम्पन्न नगरेका कारण कित्ताकाट रोकिन पुगेको छ। यसले किनबेचमा अवरोध ल्याउँदै घरजग्गा बजारमै निराशा ल्याएको विभागको भनाइ छ। यो समस्या समाधान नहुँदासम्म कारोबारमा सुधार आउने सम्भावना न्यून रहेको संकेत विभागले दिएको छ।

कुल संकलित राजस्वमध्ये भदौमा १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर, १ अर्ब २० करोड ९२ लाख रुपैयाँ पुँजीगत लाभ कर, र २६ करोड २५ लाख रुपैयाँ सेवा करको रूपमा उठाइएको विभागले जनाएको छ। घरजग्गा कारोबार घट्दै जाँदा राज्यको आन्तरिक राजस्व प्रणालीमा प्रत्यक्ष असर परेको छ, जसले अर्थतन्त्रको गति केही हदसम्म सुस्त बनाएको संकेत देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।