बालुवाटारमा सुदन गुरुङ समूहको विरोध, प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरेको छ। मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले गरेको प्रदर्शनमा ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको विषयप्रति तीव्र आक्रोश प्रकट भएको छ।

गुरुङले आन्दोलन फेरि भड्किन सक्ने चेतावनी दिँदै, “हामी फेरि सडकमा आयौँ भने कसैले रोक्न सक्दैन,” भनेका छन्। प्रदर्शनकारीहरूले ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाएका थिए। एक प्रदर्शनकारीले आन्दोलनलाई केही साथीहरूले हाइज्याक गरेको दाबीसमेत गरेका थिए।

पदभार ग्रहण गरेको दिनमै प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी थिइन्। यी मन्त्रीहरूले सोमबार शीतल निवासमा शपथ लिन तयारी गरिरहेको स्रोतले जनाएको छ।

जेनजी आन्दोलनकै परिणामस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। आन्दोलनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको मृत्यु र सयौँ घाइते भएका थिए। त्यसको भोलिपल्ट प्रदर्शन उग्र बन्दै सिंहदरबार, संसद भवनदेखि सर्वाेच्च अदालतसम्म जलाइयो।

उक्त संकटपछि राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै संसद विघटन गरेका र आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन मिति तोकिएको छ। अन्तरिम सरकारका अनुसार हालसम्म जेनजी आन्दोलनमा ७२ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते अझै उपचाररत छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।