ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एक्सलेन्स अर्बन गभर्नेन्स अवार्ड बाट सम्मानित भएका छन्।
सिजन मिडियाले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा सोमबार ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै ललितपुरलाई वस्नयोग्य सम्पदामैत्री शहरका रूपमा विकास गर्न महर्जनले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको हो । अवार्ड पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रदान गरेका थिए ।
महर्जन दुई कार्यकाल महानगर प्रमुखमा निर्वाचित हुनुका साथै समर्पित, इमानदार र संस्कृतिमैत्री नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका छन् । उनले पहिलो कार्यकालमै नेपालकै पहिलो साइकल लेन, स्मार्ट सडकबत्ती, फोहर व्यवस्थापन प्रणाली, बीउ र खानेपानी वितरण मेशिनजस्ता सार्वजनिक सेवामैत्री कार्यक्रम लागू गरेका थिए । साथै निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र विस्तार, वृक्षरोपण, शुद्ध खानेपानी पहुँच र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सम्पदा संरक्षणमा जोड दिँदै आएका छन् ।
सोही कार्यक्रममा विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
नेपालतर्फ लाइफटाइम एचिभमेन्ट अवार्ड बालकृष्ण श्रेष्ठलाई, आइकोनिक इन्टरप्रेनरसीप अवार्ड राजेन्द्र मल्ललाई, एक्सिलेन्स इन न्युरोसाइन्स एण्ड हेल्थकेयर अवार्ड डा. बसन्त पन्तलाई, बैंकिङ सीईओ अफ द इयर मनोज ज्ञवालीलाई, डिस्टिङ्ग्विष्ट पर्फमेन्स सिनेमा अवार्ड केकी अधिकारीलाई लगायत दर्जनौं व्यक्तित्वलाई सम्मान प्रदान गरियो ।
त्यस्तै अन्तर्राष्ट्रिय श्रेणीमा चीनका चेन्ग हुआङ, कम्बोडियाकी लिआङ बोफा, बंगलादेशका मशियुर रहमन सुमोन र मोइन्उद्दिन अहमद, मलेसियाका मनिमारन, भुटानका फुन्ट्शो डेन्डुप तथा थाइल्यान्डकी सुकन्या अर्त्रीले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार यस कार्यक्रमको उद्देश्य एशियाली मुलुकका विभिन्न पेशा र क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई सम्मानित गर्दै प्रेरणा जगाउने हो ।
Comment