काठमाडौँ। साफ १७ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो प्रतिस्पर्धा आज बङ्गलादेशविरुद्ध खेल्ने तयारी गरेको छ।
खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो।
त्यसपछि नेपालको उपाधि जित्ने सम्भावना कमजोर भएको बताइन्छ। हालसम्म खेलेका तीन खेलमा ३ अंक मात्र जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। उता समान खेल खेलेको बङ्गलादेश ६ अंकका साथ दोस्रो स्थानमा छ भने भारत ९ अंकसहित शीर्ष स्थानमा मजबुत बनेको छ।
नेपालले यसअघि घरेलु टोली भूटानलाई हराउँदै पहिलो जित निकालेको थियो भने भारतसँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश गरी चार टोली सहभागी छन्।
डबल राउन्ड रोबिन ढाँचामा भइरहेका खेल अन्तर्गत सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन्। अन्तिममा सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन घोषित हुनेछ । बाँकी खेलमा नेपालले पर्सि शुक्रबार भारतसँग र आइतबार भूटानसँग प्रतिस्पर्धा गर्नेछ।
Comment