ललितपुर । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिने बताइन्।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्दै उनले मन्त्री पदको उच्च गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हितमा काम गर्ने प्रतिवद्धता जनाइन्।
“तपाईंहरूले गरेको श्रद्धा र सम्मानलाई कतै चुक्न दिनेछैन, उदाहरणीय काम गरेर सकारात्मक छाप छोड्नेछु, पदमा रहँदा घमण्ड गर्नेछैन, तपाईंहरूको पक्षमा उभिनेछु,” उनले भनिन्। युवाहरुलाई प्रदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न आफू सचेत रहने स्पष्ट पारिन्।
उनी केही गरौँ भन्ने सोचका साथ जिम्मेवारीमा आएको बताउँदै सहकार्य र समन्वयमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। साथै पार्टीले इमानदारिता, लगनशीलता र धैर्यताको कदर गरेको भन्दै महिलालाई नेतृत्वमा अघि बढाउन दिएको अवसरप्रति आभार प्रकट गरिन्।
कार्यक्रममा पार्टीका बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेले पदमा रहँदा प्रदेशबासीको हितमा इमानदारीपूर्वक काम गर्न आग्रह गरे। उनले खेलकुद क्षेत्रमा छुट्याइएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले उर्मिला के.सी.ले संगठन मात्र नभई नागरिकको समस्यामा निस्वार्थ सहयोग गर्दै आजको स्थानसम्म पुगेको बताए। उपसभापति सुदर्शन घिमिरेले के.सी.लाई गतिशीलता र प्रेरणाको स्रोतका रूपमा चित्रित गर्दै पार्टी र नागरिकको विश्वासलाई उच्च राख्न आग्रह गरे।
Comment