काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १५.०२ प्रतिशतले बढाएको हो ।
आव २०८०/८१ मा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा गरेको नबिलको नाफा उल्लेख्य रुपमा बढाउन सक्नुको कारण हो, सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था अर्थात् प्रोभिजनिङमा कमी र नेट ट्रडिङ इन्कम तथा अन्य सञञ्चालन आम्दानीमा भएको वृद्धि । प्रोभिजन घटेपनि बैंकले राइट अफ (घाटा बुक) गर्दा नाफामा ठूलो वृद्धि भने देखिएन ।
बैंकले आव २०८१/८२ मा १६ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी ३ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ । यता २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोड ७३ लाख रहेको बैंकको खुद ब्याज आम्दानी करिब १ करोड रूपैयाँले मात्रै बढेको छ । बैंकले अघिल्लो आवमा खुद फि तथा कमीसन आम्दानी र नोक्सानी व्यवस्था क्रमशः ३ अर्ब २५ करोड १७ लाख र ४ अर्ब ६३ करोड ७७ लाख थियो ।
करिब १ अर्ब २६ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१/८२ मा १८ अर्ब ६० करोड ७२ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी १५ अर्ब ६७ करोड २६ लाख रुपैयाँ थियो ।
बैंकको खर्चमा कर्मचारी खर्च उल्लेख्य बढेको छ भने करिब ५७ करोड ७१ रुपैयाँ गैरसञ्चालन खर्च देखिएको छ । यो खर्च राइट अफ (मिनाहा) गरिएको कर्जा हो । अघिल्लो आवमा यस्तो खर्च ८ करोड ९७ लाख रुपैयाँमात्र थियो ।
नाफा बढ्दा नबिलको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । २०८१ असार मसान्तसम्म २२ रुपैयाँ ९० पैसा रहेको ईपीएस २०८२ असारमा २६ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
यता बक्यौता ब्याज उठाएर ६५ करोड ५९ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर ३० करोड ९४ लाख रुपैयाँ सो कोषमा थप गरेको छ । यस्तै डिफर्ड ट्याक्स रिकग्नाईजको १९ करोड २१ लाख र एक्चुरियल लसको ५ करोड २६ लाख रूपैयाँ पनि नियामकीय जगेडामा सारेको छ । नियामकीय जगेडाबाट सञ्चित नाफामा खुद १४ करोड ६१ लाख सारेको छ । यसरी बैंकले गरेको ७ अर्ब १२ करोड ७६ लाखरुपैयाँमध्ये ४ अर्ब ३९ करोड ५९ लाख रुपैयाँमात्र लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि अघिल्लो आवसम्म रहेको सञ्चित नाफासिहत ४ अर्ब ७७ करोड ३१ लाख रूपैया वितरणयोग्य नाफा देखिन्छ । यसबाट चुक्तापुँजी २७ अर्ब ५ करोड ७० लाख रहेको बैंकले १७.६४ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ ।
२०८२ असार मसान्तको तथ्यअनुसार नबिलको निष्क्रिय कर्जा केही घटेर ४.२७ प्रतिशत तथा खुद निष्कृय कर्जा ०.९५ प्रतिशत छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ७.६३ प्रतिशतबाट घटेर ५.८३ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.५७ प्रतिशत कायम भएको छ ।
यसैगरी प्राथमिक पुँजी अनुपात ९.४७ प्रतिशतबाट थोरै बढेर ९.५२ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर २३५ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ ।
बैंकले ५ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप साढे ६२ अर्बले बढाउँदा कर्जा ३९ अर्बले विस्तार गरेको छ ।
Comment