मध्य भोटेकोशी जलविद्युत उत्पादनका लागि तयार, वार्षिक ५४ करोड २२ लाख युनिट उत्पादन गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावरहाउसलगायत संरचनामा बाढी पस्न नदिन आवश्यक सुरक्षा व्यवस्था गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

स्वदेशी शिप र पुँजीबाट निर्माण भइरहेको यो आयोजना देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। गत बुधबार उत्पादनका लागि सबै तयारी पूरा भइसकेको छ। प्राधिकरणले आयोजनाभित्र रहेको ७.२ किलोमिटर लामो सुरुङमा पानी चुहावट नहोस् भनी कडाइका साथ परीक्षण गर्न निर्देशन दिएको छ। साथै, पावरहाउस र अन्य पूर्वाधारहरू भोटेकोशी नदीमा आउने बाढीबाट प्रभावित नहुने गरी सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

लामो समयको प्रतिक्षापछि उत्पादनको तयारी अवस्थामा पुगेको मध्य भोटेकोशी आयोजनाको कुल उत्पादन क्षमता १ सय २ मेगावाट रहेको छ। मार्मिङ-९ चाकुमा बाँध र जम्बुमा रहेको पावरहाउसले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

आयोजना निर्माण कार्य केही महिनाअघि सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेकाले उत्पादन सुरु हुन सकेको थिएन। सुरुमा बाह्रबिसे-लप्सिफेदी प्रसारण लाइनमार्फत विद्युत् प्रणालीमा जोड्ने प्रयास भए पनि स्थानीय पक्षसँग सहमति हुन नसकेपछि अहिले प्राधिकरणको स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी सबस्टेशन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने तयारी भइरहेको छ।

विसं २०७० देखि निर्माण सुरु भएको यस आयोजनाले जुरे पहिरो, विनाशकारी २०७२ को भूकम्प, लामो भारतीय नाकाबन्दी, भोटेकोशी नदीमा आएको बाढी, कोभिड-१९ महामारी लगायतका चुनौतीहरू सामना गर्दै आइरहेको थियो। प्रसारण लाइनको अन्योलले समेत उत्पादन सुरु हुन ढिलाइ भएको थियो। यद्यपि अहिले सबै बाधा समाधान गर्दै उत्पादन सुरु गर्न तयारी पूरा भएको प्राधिकरणले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।