काठमाडौं । चर्चित अभिनेत्री मिथिला शर्मा नेपाली फिल्म ‘सुख दुःख’मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र शर्माबीच कागजी सम्झौता सम्पन्न भएको हो। अभिनेत्री नीता ढुंगाना अधिकारीको निर्देशन तथा निर्माणमा बन्न लागेको यो फिल्मका लागि मिथिलालाई अनुबन्ध गरिएको औपचारिक घोषणा गरिएको छ।
अनुबन्ध पश्चात अभिनेत्री नीताले भनिन्, “चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौं। सायद हजुरबिना यो चलचित्र अपूरो हुन्थ्यो। अब पूर्णताको दिशामा जाँदैछ।”
यो फिल्म नीता ढुंगानाको निर्देशनमा बन्ने पहिलो प्रोजेक्ट हो। निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले सम्हाल्नेछन्। फिल्मको छायांकनका लागि भारतका चर्चित डिओपी कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिसकिएको निर्माण पक्षले जनाएको छ।
हालसम्म फिल्मको मुख्य कलाकारबारे अन्य विवरण खुलाइएको छैन। नीताले केही साताभित्र कलाकारको नाम सार्वजनिक गरिने जानकारी दिएकी छन्।
‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यो फिल्म दसैंको फूलपातीका अवसरमा प्रदर्शन गर्ने तयारीमा छ। वितरणको हकमा एफडी कम्पनीले उपत्यकाबाहिरको अधिकार लिएको छ भने रिच इन्टरटेनमेन्टले उपत्यकाभित्र फिल्म वितरण गर्नेछ।
‘सुख दुःख’ पारिवारिक भावना, सम्बन्ध र संघर्षको कथामा आधारित हुने निर्माण पक्षले जनाएको छ। अभिनेत्री मिथिला शर्माको अनुभव र अभिनय क्षमता फिल्मको भावनात्मक गहिराइमा सशक्त प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Comment