काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेको छ। शुक्रबारदेखि जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा एमाले विधानको धारा ८ र ९ लाई आधार बनाउँदै भण्डारीको सदस्यतामाथि तत्काल निर्णय नगरी गहन छलफल गर्ने जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, “पार्टी विधानको सम्बन्धित धाराहरूले विशेष परिस्थितिमा सदस्यता नवीकरणबारे स्पष्ट आधार दिएका छन्। त्यसैले विद्या भण्डारीको विषयमा विस्तृत छलफलपछि मात्र टुंगो लगाइनेछ।”
विधानको धारा ८ र ९ मा पार्टी सदस्यताको मापदण्ड, नवीकरण प्रक्रिया, निष्क्रियता तथा विशेष अवस्थाको व्यवस्थाबारे उल्लेख गरिएको छ। यसैको आधारमा भण्डारीको सदस्यता अहिले ‘पेन्डिङ’ मा राखिएको हो।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत हुन्। तर, उनी २०७२ सालमा राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी गतिविधिबाट टाढा रहँदै आएकी छन्। राष्ट्रपतिको पदबाट निवृत्त भएपछिको भूमिकाका कारण भण्डारीको पुनः सक्रिय राजनीतिक संलग्नताबारे विभिन्न अडकलबाजी हुँदै आएको थियो।
एमालेको निर्णयले विद्या भण्डारीको राजनीतिक पुनर्सक्रियता र पार्टीभित्रको उनको स्थानबारे थप बहसको वातावरण सिर्जना गरेको छ। पार्टीले भने यस विषयलाई संवेदनशील ढंगले व्यवस्थापन गरिने जनाएको छ।
Comment