काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुल १७ हजार ७ सय ३० वटा दाबी फछ्र्यौट गर्दै रु. ३ अर्ब २ करोड ४१ लाख भुक्तानी गरेको छ।
कम्पनीले प्रकाशित विवरण अनुसार, यो रकममध्ये रु. २ अर्ब ७६ करोड ४० लाख अन्तिम दाबी भुक्तानी र रु. २६ करोड १ लाख अन्तरिम दाबी भुक्तानी गरिएको हो।
गत वर्षको आश्विन महिनामा आएको बाढी पहिरोबाट सिर्जित क्षतिका लागि मात्र ४५६ वटा दाबी फछ्र्यौट गरी १ अर्ब २१ करोड २ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ। हाल बाढी पहिरोसँग सम्बन्धित ४६ वटा दाबी अझै फछ्र्यौटका लागि बाँकी छन्।
कम्पनीमा आर्थिक वर्ष २०८१/८२ भित्र जम्मा १७ हजार १ सय ५६ वटा दाबी दर्ता भएका थिए। तर फछ्र्यौट गरिएका दाबी संख्या (१७,७३०) सो भन्दा बढी हुनु कम्पनीको दाबी व्यवस्थापन प्रक्रिया प्रभावकारी रहेको संकेत भएको कम्पनीको दाबी छ।
हालसम्म कम्पनीमा ४,३८० वटा दाबी फछ्र्यौट हुन बाँकी रहेका छन्। यी बाँकी दाबीहरू छिटो फछ्र्यौट गर्न कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाएको र दाबीकर्ताबाट आवश्यक कागजात नआउँदा ढिलाइ हुन गएको जानकारी दिएको छ।
कम्पनीले दाबी फछ्र्यौटका लागि सर्भेयर, शाखा कार्यालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा शिघ्र सम्पर्क गरी आवश्यक कागजात पेश गर्न बिमितहरूसमक्ष अनुरोध गरेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिमितलाई समयमै सेवा दिन तथा दाबी समाधान प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता समेत दोहोर्याएको छ।
Comment