‘नखाएको विष पनि लाग्दो रहेछ’ — पुर्व मन्त्री गुप्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा सामाजिक सञ्जालमा सार्वजनिक अडियोले उत्पन्न गरेको विवादका बीच मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आफू प्रविधिको ‘उच्चतम् प्रयोगको सिकार’ भएको दाबी गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुप्ताले अडियोमा सुन्निएको आवाज आफ्नो नभएको दोहोर्‍याउँदै, आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्यागेको जनाएका छन्।

“कहिले काँही नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ,” उनले लेखेका छन्, “अब लागेका आरोप अनुसन्धान गरी सत्य–तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु।”

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर घुस प्रकरणसम्बन्धी अडियोबारे सोधपुछ गरेका थिए। त्यस क्रममा उक्त प्रकरणमा संलग्न व्यक्ति को हुन् भन्नेबारे जानकारी पनि लिइएको थियो।

गुप्तामाथि सार्वजनिक अडियो क्लिपमार्फत घुस लेनदेनमा संलग्न रहेको आरोप लागेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो। तर उनले उक्त अडियो ‘फेक’ भएको भन्दै अस्वीकार गर्दै आएका छन्।

उनको राजीनामापछि अब सरकारले उक्त प्रकरणको औपचारिक छानबिन अघि बढाउने संकेत देखिएको छ। गुप्ताले आफू निर्दोष रहेको दाबी गर्दै सत्य उजागर हुने विश्वास व्यक्त गरेका छन्।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।