काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बङ्गलादेशमा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली यु–२० महिला टोलीलाई मंगलबार बिदाइ गरेको छ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले टोलीलाई शुभकामना दिँदै च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे।
नेपाली टोली प्रशिक्षक यामप्रसाद गुरुङको नेतृत्वमा प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित बङ्गलादेश प्रस्थान गरेको हो। उनले टोलीले प्राविधिक पक्ष र रणनीतिमा विशेष ध्यान दिएको बताए। पछिल्लो तीन साता अभ्यासमा व्यस्त रहेको टोलीले तयारीका क्रममा मैत्रीपूर्ण खेलसमेत खेलेको छ।
साफ यु–१५ को उपाधि जितेको नेपाली महिला टोलीले यु–१९ र यु–२० मा भने अझै उपाधि जित्न सकेको छैन। यसपटक भने उपाधिको खडेरी तोड्ने लक्ष्यसहित टोली ढाकातर्फ प्रस्थान गरेको हो।
साफ यु–२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बङ्गलादेशको ढाकामा हुनेछ। प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान र श्रीलङ्का सहभागी छन्। खेलहरू डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछन्, जसअनुसार प्रत्येक टोलीले अरु तीन टोलीसँग दुई–दुई खेल खेल्नेछ।
नेपालले पहिलो खेल जुलाई १३ मा आयोजक बङ्गलादेशसँग, दोस्रो खेल जुलाई १७ मा श्रीलङ्कासँग, तेस्रो खेल जुलाई १९ मा भुटानसँग र अन्तिम खेल जुलाई २१ मा पुनः बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।
प्रतियोगितालाई आगामी अगस्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोटको पूर्वतयारीको रूपमा पनि हेरिएको छ। उक्त छनोटमा नेपाल समूह ‘ए’ मा उत्तर कोरिया, मङ्गोलिया, साउदी अरेबिया र आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
Comment