यी हुन् यो वर्षका उत्कृष्ट कृषक, राष्ट्रपतिबाट २ लाख नगदसहित पुरस्कृत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले यो वर्षका लागि १४ उत्कृष्ट कृषक छनोट गरेको छ। छानिएका १४ उत्कृष्ट कृषकले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको हो।

प्रत्येक प्रदेशबाट दुई जनाका दरले छनोटमा परेका किसानलाई आउँदो मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत गर्न लागिएको मन्त्रालयले बताएको छ। प्रदेश सरकारबाट छनोट भई पठाएका नामका आधारमा छानिएका उत्कृष्ट कृषकलाई पुरस्कारबाट सम्मानित गरिन लागेको हो।

पुरस्कारको राशि प्रतिव्यक्ति दुई लाख रुपैयाँ छ। फरक–फरक विधाबाट उत्कृष्ट पुरस्कारका लागि किसान छनोट भएका हुन्। यसअघि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको नाममा मन्त्रालयबाटै पुरस्कार वितरण गरिँदै आएकामा यो वर्ष राष्ट्रपतिबाट सम्मानित गरिने कार्यक्रम तय भएको मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले जानकारी दिए।

सानलाई कृषि पेसाप्रति हौसला र प्रोत्साहन दिन राष्ट्रपतिबाटै पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ।

कृषिलाई उत्पादन, आम्दानी र रोजगारीको माध्यमबाट आकर्षण क्षेत्रका रूपमा विकास गर्नुका साथै युवालाई कृषि पेसामा आकर्षित गरी कृषि पेसालाई सम्मानित गर्न मन्त्रालयले गत वर्षदेखि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ। यद्यपि गत वर्ष उत्कृष्ट कृषक पुरस्कृत भएका थिएनन्।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार एवं सम्मानका लागि आवश्यक रकम मन्त्रालयले वार्षिक बजेट त्था कार्यक्रमका माध्ययबाट व्यवस्था गर्ने कार्यविधिमा उल्लेख छ । पुरस्कारका लागि न्यूनतम मापदण्डसमेत निर्धारण गरिएको छ । अन्नबाली तथा दलहन तेलहन बालीका लागि तराईमा १५ कट्ठा र पहाडमा १० रोपनीमा खेती तथा पशुपालन गरेको हुनुपर्नेछ।

केरा र उखुका लागि तराईमा एक बिघा र पहाडमा १० रोपनी, स्याउ एक हजार बोट, मौरीपालन ५० घार, माछापालन तराईमा पाँच कट्ठा र पहाडमा तीन रोपनीमा गरेको हुनुपर्ने व्यवस्था छ।

आलुका लागि तराईमा एक बिघा र पहाडमा १० रोपनीमा खेती गरेको हुनुपर्नेछ। तरकारी बाली, पुष्प तथा मसला बालीका लागि तराईमा पाँच कट्ठा, पहाडमा दुई रोपनी प्लास्टिक हाउस हुनुपर्नेछ। च्याउका लागि १० वटा टनेल, अलैँची, अदुवा, चिया र कफीका लागि पाँच रोपनीमा खेती गरेको हुनुपर्छ।

यी हुन् राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि छनोटमा कृषक तथा फार्म

कोसीबाट आर्य कृषि फार्म र रमेश कृषि फार्म

मधेसबाट शम्भुनाथ माछा फार्म र निजगढ केरा एग्रिकल्चर फार्म

बागमतीबाट कालिका पशु विकास केन्द्र र ग्रिनलाइन एग्रो प्रालि

गण्डकीबाट ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्गानिक फार्म र मित्र वाटिका कृषि फार्म

लुम्बिनीबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्म

कर्णालीबाट गोविन्द ओली र भरतनाथ योगी

सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपक्षी तथा कृषि फार्म, कैलाशेश्वरी कृषि तथा पोल्ट्री फार्म प्रालि

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।