काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आवेदन आजदेखि खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २९ करोड १९ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख १९ हजार ५०० कित्ता साधारण शेयर छुट्याइएको छ ।
यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकामा रहेका बैंक तथा दरमखोला पावरहाउसबाट आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले शेयर खरिद आवेदनका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरुका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले असार २३ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट समयभित्र आवेदन नआएमा निष्काशन अवधि साउन ६ गतेसम्म लम्बिन सक्छ ।
आईपीओको रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आइरएन डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिमयुक्त रहेको जनाउँछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कार्यरत छ।
Comment