काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औँ नगरसभाको बैठकमा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड रुपैयाँ, सङ्घीय राजस्व बाँडफाड ३३ करोड आठ लाख रुपैयाँ, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाड एक अर्ब एक करोड रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड चार करोड २८ लाख रुपैयाँ हुने उपप्रमुख गुुरुङले जानकारी दिइन् ।
बजेटका प्राथमिकतामा हरित, उत्थानशील र दियो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन उल्लेख छ । वातावरण संरक्षण, सम्बर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह बजेटका प्राथमिकतामा छन् ।
त्यस्तै स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धन, गुणस्तरीय, जवाफदेही र प्रतिष्पर्धी मानवस्रोत विकास बजेटको प्राथमिकतामा रहेको उनले बताइन् ।
महागनरको नीति तथा कार्यक्रममा पोखराको विकास र युवा उद्यमशीलता प्रवर्द्धन र सहजीकरणका लागि पोखरा आइडिया बैँक स्थापना गर्ने उल्लेख गरिएको छ । महानगरले तेस्रो त्रैमासिकभन्दा पछि योजनाहरूको सम्झौता नगर्ने नीति लिने उल्लेख गरेको छ ।
योजना छनोटलाई प्रभावकारी बनाउन आयोजना बैँक सञ्चालन गर्ने, अनौपचारिक क्षेत्रमा क्रियाशील मजदूरको हितका लागि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमअघि सारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Comment