नुवाकोट । नुवाकोटको पिपलटार क्रिकेट मैदानमा सम्पन्न वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर–३ ले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा वडा नम्बर–३ ले वडा नम्बर–४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर–३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो। टोलीका तर्फबाट मञ्जित थपलियाले अविजित ९४ रनको उत्कृष्ट पारी खेले। उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए। राजेश रिजालले ४७ रनको योगदान दिए। वडा नम्बर–४ का संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर–४ ले १८.४ ओभरमा जम्मा ८३ रनमै समर्पण भयो। किशोर अर्यालले सर्वाधिक २५ तथा विकास लामिछानेले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
वडा नम्बर–३ का सुरज ओझाले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए। विधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट हात पारे।
फाइनलको ‘प्लेयर अफ द म्याच’ मञ्जित थपलिया घोषित भए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वडा नम्बर–४ का विकास लामिछाने बनेर नगद १० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट बलर वडा नम्बर–७ का हरिहर सुवेदी, उत्कृष्ट ब्याटर वडा नम्बर–३ का दिनेश सुबेदी, र उदीयमान खेलाडी वडा नम्बर–३ का सुरज ओझा घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।
समापन समारोहमा नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले सम्मान गरेको थियो। विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले पुरस्कार वितरण गरे।
Comment