काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
लिग–२ को चौथो चरणको त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ। सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएर विजयी सुरुआत गरेको थियो। नेदरल्यान्ड्स भने यो शृङ्खलामा पहिलो जितको खोजीमा छ। नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय खेल भएका छन्, जसमा नेदरल्यान्ड्सले तीन र नेपालले दुई खेल जितेका छन्।
विश्वकप लिग–२ मा नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्कसहित दोस्रो स्थानमा छ, भने १३ खेल खेलेको नेपाल ८ अङ्कसहित सातौँ स्थानमा छ। आठ टोली सहभागी यो लिग सन् २०२७ को विश्वकप छनोटको आधार हो।
सन् २०२७ सम्म चल्ने लिगको अन्त्यमा शीर्ष चार टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान पाउनेछन्, जबकि पुछारका चार टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन्।
Comment