काठमाडौं । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रका शीर्ष निकायहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले बजेटमा आफ्ना माग तथा सुझावहरू समेटिएको भन्दै स्वागत गरेका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण हुने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले दिएका सुझावहरूलाई बजेटमा समेटिएको भन्दै सन्तोष व्यक्त गरे। उनले भने, “सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्व लक्ष्य उपयुक्त छन् तर कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रका धेरै सुझाव समेटिएको दाबी गरे। “आर्थिक ऐनमा के आउँछ हेर्न बाँकी छ, तर धेरै सुझावहरू समेटिएको छ,” उनले भने, “निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मागलाई सम्बोधन गरिएको छ।”
महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि बजेट समग्रमा निजी क्षेत्रका माग सम्बोधन भएको बताए। तर बजेटको साइज बढ्दा त्यसलाई मिलाउने विषय चुनौतीपूर्ण हुने धारणा राखे। “बजेट राम्रो हिसाबले आउँछ तर कार्यान्वयनमै समस्या देखिन्छ,” उनले भने।
त्यस्तै, अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष रणवीर चौधरीले पनि आफूहरूका माग बजेटमा समेटिएकोमा गर्व लागेको प्रतिक्रिया दिए।
उद्योगी व्यवसायीहरूले बजेट सकारात्मक रूपमा आएको उल्लेख गरे पनि अब चुनौती भने त्यसको प्रभावकारी कार्यान्वयनमा रहने स्पष्ट संकेत दिएका छन्।
Comment