काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ को पहिलो चार महिनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी ३१ लाख २८ हजार यात्रुले यात्रा गरेका छन्। विमानस्थल कार्यालयका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म आन्तरिकतर्फ १४ लाख ८६ हजार ३६४ र अन्तर्राष्ट्रियतर्फ १६ लाख ४२ हजार १०० यात्रु ओसारपसार भएका छन्। यस अवधिमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण १० हजार ३३५ र आन्तरिक उडान तथा अवतरण ३२ हजार २८५ पुगेका छन्।
चार महिनामा नेपालबाट बाहिरिने अन्तर्राष्ट्रिय यात्रु ८ लाख १३ हजार ६६० र नेपाल भित्रिने यात्रु ८ लाख ३ हजार ३४३ रहेको तथ्यांकमा उल्लेख छ। अन्तर्राष्ट्रिय यात्रु संख्याको महिनागत विवरणमा जनवरीमा ३ लाख ८७ हजार ३४, फेब्रुअरीमा ३ लाख ७३ हजार ५३४, मार्चमा ४ लाख २४ हजार ५२२ र अप्रिलमा ४ लाख ५७ हजार १० जनाले हवाई यात्रा गरेका छन्।
त्यस्तै, आन्तरिक यात्रु मध्ये ७ लाख ६१ हजार ६६५ जना काठमाडौँबाट बाहिरिएका थिए भने ७ लाख २४ हजार ७०८ जना बाहिरबाट काठमाडौँ आएका थिए। आन्तरिक यात्रुको सन्दर्भमा जनवरीमा ३ लाख १२ हजार ९२६, फेब्रुअरीमा ३ लाख ५७ हजार ७६९, मार्चमा ४ लाख ७ हजार ७७५ र अप्रिलमा ४ लाख ७ हजार ८९४ जनाले यात्रा गरेका थिए।
यात्रु संख्यामा देखिएको यो वृद्धि सन् २०२५ को अन्त्यसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८० लाखभन्दा बढी यात्रु आवतजावत गर्ने लक्ष्य नजिक पुगेको संकेत हो।
Comment