चीन जोड्ने कोरला सडकका चार योजना कार्यान्वयन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन्।

पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित ९ योजना अघि बढाइएका छन्। आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंका अनुसार ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेका छन् भने पाँच योजना ठेक्का सम्झौताको चरणमा रहेका छन्।

यस अन्तर्गत मुस्ताङको थासाङ-४ स्थित कैकु खोला, थासाङ-२ को लार्जुङ खोला, जोमसोम-मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल निर्माण तथा म्याग्दीको राहुघाट खोलामा बेलिब्रिज व्यवस्थापनका लागि ठेक्का सम्झौता भइसकेको छ।

आयोजनाका अनुसार थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न रु पाँच करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको छ। त्यस्तै, थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माण सम्पन्न गर्न रु दुई करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो।

यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको छ। पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा रु ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए। म्याग्दीको राहुघाट खोलामा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बीआरटी साया जेभीसँग रु तीन करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको जानकारी दिइएको छ।

सडक निर्माण तथा पुल व्यवस्थापनले बेनी-जोमसोम-कोरला सडकखण्डलाई सुरक्षित र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।