२० करोडको लागतमा मुस्ताङको पाक्लिङमा बन्यो गुम्बा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो ।

२०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बीएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए । ‘गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा २० करोड लगानी भएको छ,’ उनले भने, ‘पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ ।’

अस्ट्रेलिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषदमार्फत गुम्बासहितका पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग उपलब्ध गराएको हो ।

दोस्रो चरणमा गुम्बा परिसरमा १८ करोडको लागतमा अस्पताल, बहुउद्देश्यीय सभाहल र अतिथिगृहको भवन निर्माण सुरु भएको छ । तेस्रो चरणमा लामा विद्यालय भवन निर्माणका लागि डिजाइन तयार भएको इन्जिनियर थकालीले बताए । सो विद्यालयमा एक/एक सय जना लामा विद्यार्थी र भिक्षुहरूलाई आवासीय सुविधा दिने केन्द्रले जनाएको छ ।

तिब्बतमा बुद्ध धर्मको प्रचार हुनुअघि नै बोन धर्मको स्थापना भएको र मुस्ताङमा पनि सोही धर्मको प्रभाव रहेको मानिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले यो गुम्बाले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको बताए । जोमसोम–कागबेनी सडकको एक्लेभट्टी नजिकै गुम्बा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।