काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकैपटक ३ वटा अवार्ड पाएको छ ।
इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंक अफ नेपाल, बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा अवार्ड जितेको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए । अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।
इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै ती वटा अवार्ड जितेको हो ।
नेपालबाटै एनआइसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् ।
अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरूमा उत्कृष्ट भएको थियो।
बैंकले यसअघि न्यू बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ८ अर्ब अधिकृत पूँजी र ४ अर्ब ७३ करोड चुक्ता पूँजी भएको बैंकका लुम्बिनीमा ७२ सहित देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।
Comment