नेताहरुले गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीतिलाई भ्रष्ट बनाएको छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई भ्रष्ट बनाएको बताएका छन्। 

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले हालैको सत्ता गठबन्धन परिवर्तनले पनि चुनाव अगाडि नेताहरुको स्वार्थको आधारमा जनताको चाहानालाई तिरस्कार गर्दै गठबन्धन गरेर जानु नहुने  बताए। 

उनले भने, ‘अहिले पनि संसदमा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोली पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद र सरकार बन्धक बन्छ । जनताको आवश्यकता, अपेक्षा र चाहाना ओझेलमा पर्छ । भ्रष्टाचार बढ्छ । तसर्थ नेपालको राजनीतिलाई भ्रष्टीकरण हुनबाट बचाउन हाम्रो निर्वाचन प्रणालीलाई बदल्नुपर्छ ।’

उनले मिश्रित निर्वाचन प्रणाली विकृत भयो भन्दै यसलाई नेताहरुले चरम दुरुपयोग गर्ने गरेको बताए । उनले हालैको घटनाक्रमले पनि नेताहरुको स्वार्थमा संसद र सरकार बन्दक बनाउने कामलाई  निरुत्साहित गर्नुपर्छ भन्ने पाठ सिकाएको छ भन्ने धारणा राखे । प्रणाली ठीक नहुँदा नेपालले पाउने अवसर गुम्न सक्छ धन्दै उनले संघीय प्रणालीलाई ठीक ढंगले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारी अनुसार गुणस्तरीय सेवा दिन ध्यान दिनुपर्ने बताए । 

गोदावरी नगरपालिकाले समुन्नतिको बिषयबस्तुलाई राम्रोसँग ग्रहण गर्नु महत्त्वपूर्ण भएको भन्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकाससंगै मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तरता दिन सफलता मिलोस् भन्ने कामना गरे । 

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताउदै विवादरहीत तरिकाले काम गर्न सफलताको कामना ब्यक्त गरे। 

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक संघीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौं स्थापना दिवससम्म आइपुग्दा महत्त्वपूर्ण कार्यसम्पादन गरेको बताईन । उनले  यस नगरपालिकालाई शिक्षा, स्वास्थ, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमुना नगरपालिकाको रुपमा विकास गर्न लाग्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरीन । 

त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतीर विशेष महत्त्व दिएर मानव विकास, सामाजिक विकास र  पूर्वाधार विकासमा लाग्न आग्रह गरे । उनले स्थानीय नागरिकहरुको सुख र समृद्धिका लागि ध्यान दिएर योजना तथा कार्यक्रमहरु तय गर्न आग्रह गरे । 

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिका नगरवासीको इच्छा र चाहाना पूरा गर्न महत्त्वपूर्ण काम गरेको बताए । उनले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहाना गरेबमोजिम संघ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताए। गोदावरी नगरपालिकाको सौन्दर्य हरण गरिरहेको खानी क्षेत्रलाई पनि व्यवस्थापन गर्न नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले ध्यानाकर्षण गराउए । 

नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबै भन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासोलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताए । उनले सीमित स्रोत र साधनका बावजुत पनि शिक्षा, स्वास्थ्यसंगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको जानकारी गराए ।

उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको कमीका कारण सबै वडा कार्यालय भवन बनिनसकेको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।