लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्र संस्थागत हुँदैन : प्रमुख सचेतक पदम गिरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्दैमा लोकतन्त्र संस्थागत हुन नसक्ने जिकिर गरे।

उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताए। उनले सत्तामा हुनेलाई केही कुरा बिझायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने स्पष्ट पारे। उनले यस्ता कुरा अनुसन्धानका आधारमा नीति बनाई नियमन गर्न जरुरी रहेको बताए। उनले सबै मानिसले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताए।

गिरीले भने, ‘पत्रकार, नेता, कर्मचारी जोसुकै हुन्। प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति ऊ जवाफदेही हुनैपर्छ। हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रूपले जवाफदेही र उत्तरदायी हुनैपर्छ। त्यो भएन भने सही अर्थमा हामीले लोकतन्त्र संस्थागत गर्न सक्दैनौँ। नयाँ मिडियाको विकास हुँदै गयो भने तदनुकूलका हाम्रा नीति, कानून निर्माण गर्नुपर्छ। नियमन, निगरानीमा ध्यान दिनुपर्छ। सत्तामा हुनेले केही चिज बिजायो भने बन्द गरिदिने। यसरी समस्याको समाधान हुँदैन।’

प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताए। आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।