कांग्रेसले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५० लाखको चेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । जाजरकोट भूकम्पपछि पार्टीले निर्णय गरेअनुसार आज सभापति शेरबहादुर देउवाले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे । 

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए । उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताए । उनले भने, “हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उनीहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताए । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।”

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए । उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताए ।

आजै नेकपा (एकीकृत समाजवादी)ले पनि रु २५ लाख सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी रु २५ लाख बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।