काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भइरहेको बताएकी हुन् । उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परेपनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् ।
विगतका समस्या नदोहो-याउन सहमतिको लागि प्रयास गरिएको उनको भनाई छ । उनले भनिन्, ‘नागरिकता ऐन त वास्तवमा ६ महिनाभित्र भन्नाले ६ महिना कुराउनुपर्छ भन्ने कुरा होइन । छिटोभन्दा छिटो ल्याउने कुरा नै हो । त्यसकारण सरकारको प्राथमिकतामा छ । अलिअलि सहमति खोज्नुपर्छ यो विषयमा त्यसले गर्दा केही समय लागेको हो । सहमति जुटाउनुपर्ने भएको हुनाले । हिजो विगतमा पनि समस्या भयो अब त्यो समस्या नहोस् भनेर हामी सहमती खाज्ने प्रक्रियामा छौँ नागरिकताको विषयमा ।’
मन्त्री शर्माले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वनय गर्नका लागि सरकारले आफ्ना सबै निकायहरुलाई सक्रिय पार्ने पनि बताइन् ।

Comment