काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बचाउ गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको बताएका हुन् ।
‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन । नाता–सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर सर्वोच्च अदालतले उहाँका विषयमा गरेको फैसला मैले बुझ्न सकेको छैन ।’
लामिछाने संसद्को ढोका खुला देखेर संसद्मा पसेका व्यक्ति नभएको ओलीले बताए ।
‘निर्वाचन आयोगले उम्मेदवार हुन योग्य ठानेको र जनताले अत्यधिक मतसहित जिताएको व्यक्ति हो,’ ओलीले भने,‘एउटा प्रक्रियागत त्रुटीका कारण सबै गुम्यो र ठूलो धक्का लाग्यो ।’
सर्वोच्च अदालतको फैसलाले कसलाई न्याय भयो भन्ने कुरा आफूलाई थाहा नभएको ओलीले बताए ।
उनले भने, ‘उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ ? के अन्याय पर्यो उनलाई ? असम्बन्धित व्यक्तिले उजुरी गरेको छ । यस फैसलाबाट कसले न्याय पायो भन्ने मैले बुझिनँ ? कसले मर्काबाट उन्मुक्ति पायो ?’
उनले यो मुद्दामा रविले न्याय नपाएपछि कसले न्याय पायो भन्दै प्रश्न गरे ।
‘प्रक्रियागत त्रुटीका कारणले सांसद गयो, पार्टी अध्यक्ष, सांसद, गृहमन्त्री गयो । रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो ?, ओलीले थप भने,‘यो फैसला बुझिनसक्नु खालको लाग्यो । यसको कानुनी सिद्धान्त के हो ? किन यस्तो फैसला गरेको होला ?’

Comment