काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा उपस्थितमध्ये १०५ सांसदले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका छन् । एक जना सांसद भने अनुपस्थित भए ।
प्रदेशसभाका सभामुख भुवन पाठकले विश्वासको मतको प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको संसदलाई जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिएको छ ।
सत्ता गठबन्धनका एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाबाहेक सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएको हो । जम्मकट्टेललाई विश्वासको मत दिए पनि कांग्रेसले प्रदेशसभामा प्रतिपक्षको भूमिका रहने जनाएको छ ।
जम्मकट्टेल २५ पुसमा ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Comment