सोमबारदेखि सुरु हुने संघीय संसद्‌को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सोमबारदेखि शुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ। 

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सोमवार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । पहिलो बैठकमा सबै दलबाट संसदीय दलका नेताले सम्बोधन गर्ने छन ।

अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको उनले बताए। सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोलि एकै समयमा बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको उनले जानकारी दिए । सोही बैठकको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले बताए ।

अहिले केही नयाँ दलहरू संसदमा आएकाले दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरूको व्यवस्था मिलाइएको उनले बताए । ती दलबाट निर्वाचित हुने पदाधिकारीहरूलाई कानुन बमोजिम सवारी साधन उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको भए पनि पर्याप्त सवारी साधन नभएकोले सरकारसँग त्यसबारे पहल भइरहेको उनको भनाइ छ । 

सहायक प्रवक्ता धमलाले राष्ट्रियसभा अन्तर्गत पनि आइतवार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको बताए । 

सङ्घीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको उनले बताए । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सहायक प्रवक्ता धमलाले १२ वटा दलहरूलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्ने बताए ।

सबै दलहरूलाई फ्रन्टमा नेता रहने र पछाडि अरू सदस्यहरू रहनेगरी सिटको व्यवस्थापन गरिएको उनले बताए । अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको उनले जानकारी दिए । सङ्घीय संसदमा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । सोमवारबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको उनको भनाइ छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।