काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ ।
संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य रहेका छन ।
समितिको बैठकले बुधबारका लागि निर्वाचनको मिति तय गरेको हो । अहिले सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमात्र बुधबार चुनाव हुने समितिका एक सदस्यले जानकारी दिए ।
संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन ।
कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरुले दलको नेतामा मतदान गर्नेछन् ।
Comment