काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहलाई संघीयता कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे। मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको प्रधानमन्त्री देउवाले बताए ।
‘अबको हाम्रो प्राथमिकता संघीयता, लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको स्थानीय सरकारको सवलीकरण गरी नागरिकमा सुशासन र विकास अनुभूति गराउने हुनुपर्दछ। संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा, शिक्षा, स्वास्थ्यलगायतका विषयहरूको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति छ ।’
प्रधानमन्त्री देउवाले देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकार लगायतका सबै सार्वजनिक सेवाहरूलाई प्रभावकारी रुपमा सबै तहमा लागू गर्न आग्रह गरेका छन्। उनले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्। स्थानीय तहले संरचनात्मक सुधार, सेवा प्रवाहका लागि नवीन प्रविधिको उपयोग गरी सेवाग्राही केन्द्रित योजना बनाई अगाडि बढेमा सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सकिने उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरूको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नेगरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताए । उनले दिगो विकास लक्ष्यअनुरूप अघि बढ्नेगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए।
Comment