एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन् : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन्।

एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे। ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने?’ 

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो। उनले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे। ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो।’

ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए। उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताए।

एमाले-जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताए। उनले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे। उनले मङ्सिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने संकेत पनि गरे।

ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताए। कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने। ओलीले मङ्सिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिए।   

‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ’, उनले भने, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरू ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मङ्सिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, स्थायी ढङ्गले, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ?’

अध्यक्ष ओलीले एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु भन्ने ठान्यो भने त्यो सम्भव नहुने बताए। सो अवसरमा सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले एमाले कार्यकर्तालाई अनुरोध गर्दै छातामा मत हाल्नु खर्च गर्नु नभई लगानी हुने बताए। सुनसरी-१ मा एमालेजनले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उनले प्रतिबद्धता व्यक्त गरे।

सुनसरी-१ एमाले-जसपा संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा एमाले स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाम्फेले समेत सम्बोधन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।