काठमाडौं । बीपी कोइरालाकी नातिनी तथा अभिनेत्री मनीषा कोइरालाले बीपीको आदर्शलाई कांग्रेस र अरूहरूले बिर्से पनि राप्रपा र यसका अध्यक्ष राजेन्द्र लिङ्देनले पछ्याइरहेको दाबी गरेकी छन्।
शुक्रबार पोखरामा भएको राप्रपाको जनसभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएकी हुन्।
बिपी कोइरालाकी नातिनीसमेत रहेकी मनीषाले भनिन्, ‘‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रै’नछ।’’
राप्रपाको घोषणा पत्र पनि आफूलाई मन परेको उनले बताइन्। उनले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको समेत दाबी गरिन्।
उनले भनिन् ‘‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ । किनकि, उहाँहरूले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ।’’
नेपालको कोइराला परिवारमा जन्मिएकी मनिषा भारतमा बस्छिन्। उनी चर्चित अभिनेत्री हुन्। राजनीतिक कार्यक्रममा खासै देखा नपर्ने उनी राप्रपाको कार्यक्रममा पहिलो पल्ट देखिइन्। उनको परिवार कांग्रेस भए पनि उनले अरुनै दललाई समर्थन गरेको देखिएको छ।
अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको थियो। भारतीय चलचित्र उद्योग बलिउडमा ख्याती कमाएकी अभिनेत्री कोइराला नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् ।
Comment