देउवाले डडेल्धुराका ७ वटै तहमा हुने सभामा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।

बुधबार कैलालीको धनगढी पुगेका देउवा बिहीबार डडेल्धुरा जाने भएका हुन्। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ।

देउवाले आज मह्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने छन्।

यस्तै कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ गते नै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने छन्।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।

देउवाले चुनावी घरदैलो भने गर्ने छैनन्। कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।