दिनेश पाण्डे
नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डे द्वारा यस कृतिमा अवधूत दत्तात्रेयको वेदान्तमय वाणीलाई सबैले बुझ्ने गरी नेपाली भाषामा समछन्दमा राखिदिनुभएको छ।
हुन त आजको भोगविलासको जमानामा यस्ता पुस्तक पढ्ने रुचि कमैमा मात्रै पाइन्छ । तथापि अहङ्कारबाट ओङ्कारतर्फ तथा संसारबाट परमात्मातर्फको यात्रामा गतिशील रूपले अघि बढ्न चाहनेहरूलाई भने यो कृतिले पक्कै पनि सहयोग गर्नेछ भन्ने विश्वास हामीलाई छ।
हाम्रो एक्ट प्रो नेपाल डट कम मार्फत यस कृतिलाई प्रत्येक हप्ता शनिवार प्रकाशित गरिँदैछ।
अवधूतगीताका केही रोचक श्लोकहरू गुनगुनाउँदै जाँदा सोको नेपाली गुनगुनाहट पनि सुरु भएपछि पूरा पुस्तककै नेपाली भावानुवाद गर्ने सोच मनमा आई यौटा सिङ्गो कृति नै तयार हुन पुगेकोमा लेखक आफूले कहिल्यै नसोचेको कुरा हुन गएको बताउनुहुन्छ । अनुष्टुप्, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक, वसन्ततिलका तथा मात्रिक शास्त्रीय समछन्दमा लेखिएको यो कृति प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।
हामीलाई विश्वास छ कि हाम्रा आध्यात्मिक तथा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ ।
लेखक परिचय
नाम- दिनेश पाण्डे
जन्म- २०३३-०१-१३
जन्मस्थान- नुवाकोट, थानसिङ्-२
हाल- काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार
कार्यस्थल- मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।
अवधूतगीता अध्याय ५
अवधूत भन्दछन्-
‘ओम्’ अक्षर यो गगनसमान
सार असार न वर पर जान।
अविलास विलास निराकरण
कठिन छ अति विन्दु समुच्चरण।।१
सुन तत्त्वमसि श्रुतिको पद यो
प्रतिपादित आत्मबिसे सब यो।
छ उपाधिविवर्जित सृष्टिसम
रुनु के छ र हे मन ! सर्वसम ।।२
तल माथि र बाहिर भित्र सम
अनि एकविहीन छ भावसम।
यति जान सदा भवरोग गयो
रुनु के छ र हे मन ! सर्वसम ।।३
न त कल्पित कल्प विचार कुनै
न त कारण कार्य विचार कुनै ।
पदयोग वियोग सदा छ सम
रुनु के छ र हे मन ! सर्वसम ।।४
छ न बोध विबोध समाधि कहाँ
न छ देश विदेश समाधि कहाँ ।
सब काल अकाल लयादि सम
रुनु के छ र हे मन ! सर्वसम ।।५
न त कुम्भ छ जान न कुम्भनभ
न त जीव-शरीर न जीव-नव।
अझ कारण कार्य विभाजन न
अनि के रुनु हे मन ! सर्वसम ।।६
छ त सर्वनिरन्तर मोक्षपद
लघु-दीर्घ विचारविहीन पद।
सब वर्तुलकोण त्रिकोण सम
अनि के रुनु हे मन ! सर्वसम ।।७
सुन शून्य विशून्य विहीन छ ऊ
बुझ शुद्ध विशुद्ध विहीन छ ऊ ।
अझ सर्व विसर्व कहाँ छ भन
अनि के रुनु हे मन ! सर्वसम ।।८
न छ भिन्न विभिन्न विचाररत
न छ भित्र र बाहिर सन्धि न त ।
रिपु-मित्र-विवर्जित सर्वसम
अनि के रुनु हे मन ! लौ न भन ।।९
न त शिष्य विशिष्य छ रूप कतै
न चराचर-भेद विचार कतै।
पदमोक्ष निरन्तर सर्वसम
अनि के रुनु हे मन ! लौ न भन ।।१०
छ त रूप-विरूप-विहीन छ त्यो
अझ भिन्न-विभिन्न-विहीन छ त्यो।
र छ सर्ग-विसर्ग-विहीन सम
अनि के रुनु हे मन ! लौ न भन ।।११
न गुणागुणपाश-निबद्ध छ ऊ
न त जीवन मृत्यु कुनै बुझ ऊ।
छ त शुद्ध निरञ्जन सर्वसम
अनि के रुनु हे मन ! लौ न भन ।।१२
छ त भाव-विभाव-विहीन छ ऊ
छ त काम-विकाम-विहीन छ ऊ।
र छ बोधसमान र मोक्षसम
अनि के रुनु हे मन ! सर्वसम ।।१३
अविभाज्य निरन्तर तत्त्व छ यो
बुझ सन्धिविसन्धि-विहीन छ यो।
अझ सर्वविवर्जित सर्वसम
अनि के रुनु हे मन ! लौ न भन ।।१४
घरबार गरेर बसोस् नबसोस्
रिपु मित्र समेत रहोस् नरहोस् ।
सब बोध रहोस् नरहोस् छ सम
अनि के रुनु हे मन ! सर्वसम ।।१५
अविकार छ चेतन झूट जगत्
अविलक्ष्य छ ऊ र विलक्ष्य जगत्।
जब केवल चेतन सत्यसम
रुनु के छ र हे मन ! सर्वसम ।।१६
जगमा बुझ जीव अनेकन छन्
र निरन्तर जीव सबैतिर छन् ।
सब केवल जीव छ ब्रह्मसम
रुनु के अनि हे मन ! सर्वसम ।।१७
अविवेक विवेक भनूँ कसरी
अविकल्प विकल्प कहूँ कसरी।
छ निरन्तर एक अबोधसम
रुनु के छ र हे मन ! सर्वसम ।।१८
पदमोक्ष न ऊ पदबन्ध न वा
पदपाप न ऊ पदपुण्य न वा।
पदरिक्त न ऊ पदपूर्ण न वा
अनि के रुनु लौ भन हे मनुवा ।।१९
न छ वर्ण अवर्ण कुनै उसको
न त कारण कार्य कुनै उसको ।
छ विभेद र भेद विहीनसम
रुनु के छ र हे मन ! सर्वसम ।।२०
सब चित्तबिसे बुझ चेतन छ
सबका हियमाझ टनाटन छ।
छ चतुष्पद वा द्विपदादि सम
रुनु के छ र हे मन ! सर्वसम ।।२१
अति निर्मल निश्चल भैकन यो
सबका सँगमा छ निरन्तर यो।
दिनरात विवर्जित छन् उसमा
रुनु के छ र हे मन ! सर्वसम ।।२२
न त बन्ध विबन्ध छ यो सम छ
न त योग वियोग छ यो सम छ ।
न छ तर्क वितर्क कुनै उसमा
रुनु के छ र हे मन ! सर्वसम ।।२३
कुन काल अकाल छ सक्छ छुन
अणुमात्र कृशानु-प्रभाव छ न।
जब सत्य पवित्र निराकरण
छ त के रुनु हे मन ! सर्वसम ।।२४
न त देह छ रे न विदेह अरे
अझ स्वप्न-सुषुप्ति-विहीन छ रे।
विधि के छ निषेध विहीन सम
अनि के रुनु हे मन ! सर्वसम ।।२५
नभकोसरि शुद्ध विशालपन
न छ छिन्न कतैतिर सर्वसम ।
जसमा सब सारविसार सम
अनि के रुनु हे मन ! सर्वसम ।।२६
छ विधर्म र धर्म विराग सम
जड चेतनमा न छ राग सम।
अझ काम विकाम विराग सम
अनि के रुनु हे मन ! सर्वसम ।।२७
सुख दुःखबिसे छ अलग्ग सदा
अझ हर्ष र शोक विहीन सदा।
गुरु-शिष्य-विवर्जित यो परम
छ त के रुनु हे मन ! सर्वसम ।।२८
न छ सत्य असत्य न बीज छ न
न त साम्य विसाम्य चला चल न।
अविचार विचार छ दूरसम
अनि के रुनु हे मन ! सर्वसम ।।२९
जति जे भनियो छ निचोडसम
निजभावविहीन भएर सुन।
विषयी सब कार्य छ झूट मन!
अनि के रुनु हे भन सर्वसम ! ।।३०
श्रुति भन्दछ यो गगनादि जगत्
अनि तत्त्व सबै मृगतोय फगत्।
जब चेतन एक छ सर्वसम
अनि के रुनु हे मन! लौ न भन ।।३१
जब यति जान्दछ जान्नु छ अब के
वेद तर्क सब काम छ तब के।
समरस-मग्न भई रसपूत
बोल्दछ रसमय अब अवधूत।।३२
इति दिनेशपाण्डेयकृते दत्तात्रेयावधूतगीतानेपालीभावानुवादे पञ्चमोsध्याय:।।
Comment