सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु गरिएको छ । १ हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरेका छन् ।

गाउँमैत्री अक्षयकोषले निर्माण गर्न लागेको सङ्ग्रहालय भवनमा २ करोड बढीको लागत लाग्ने अनुमान गरिएको छ । चालु आवमा गण्डकी प्रदेश सरकारले दिएको ५० लाख बजेटबाट तला ढलानसम्म गरिने भएको छ । ‘भवनको भित्री संरचना र साजसज्जाको काम आउँदो वर्ष गर्ने लक्ष्य छ’, अक्षयकोषका अध्यक्ष हेमराज आश्रमले भने ।

उनका अनुसार सबै पूर्वाधार निमार्ण गरेपछि दुई वर्षभित्रमा सङ्ग्रहालयलाई पूर्णस्वरुपमा सञ्चालनमा ल्याइनेछ । अक्षयकोषले गत साउनदेखि नै सङ्ग्रहालय निर्माणका लागि पूर्वाधारको काम अघि बढेको हो ।

सङ्ग्रहालयमा विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका लोकबाजा संकलन गरिएको छ ।

अक्षयकोषले सांस्कृतिक सङ्ग्रहालयको योजना ल्याएपछि गत आवमा पनि प्रदेश सरकारले १० लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमध्ये ५ लाख नगरा (दमाहा) र बाँकी अक्षयकोषको कार्यालय भवन बनाउँदा खर्च भएको थियो ।

२ सय ८० किलोको उक्त नगरालाई अक्षयकोषले ‘देशकै ठूलो’ भनेर दाबी गर्दै आएको छ । अबदेखि नयाँ वर्षका दिन त्यो नगरा बजाइने भएको छ । निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा पनि राखिएको छ । भवनले पूर्णता पाएपछि संकलित लोकबाजालाई व्यवस्थित रुपमा सङ्ग्रह गरिनेछ ।

सङ्ग्रहालयले नेपाली कला, संस्कृतिको संरक्षण तथा सवर्द्धनमा टेवा थप्ने वाङ्मयसेवी एवं काठेखोलाका कार्यपालिका सदस्य टीका संगम बिकले बताए । ‘सङ्ग्रहालयले जिल्लामा पर्यटकीय आकर्षण पनि बढाउँछ’, उनले भने, ‘साथै यो साझा सांस्कृतिक सम्पत्तिका रुपमा रहनेछ ।’

सङ्ग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि सञ्चालन भइरहेको छ । देश विदेशबाट स्वतःस्फूर्तरुपमा सहयोग आउने क्रम सुरुभएको अक्षयकोषले जनाएको छ । यसअघि आर्थिक स्रोतको जोहो नहुँदा सङ्ग्रहालय बनाउने योजना अन्योलमा परेको थियो ।

प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि काम अघि बढेको हो । २०६६ मा स्थापित अक्षयकोष कला, संगीत र साहित्यको उत्थानमा क्रियाशील छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।