खोप हराएको छैन, गलत प्रचार भइरहेको छ : स्वास्थ्यमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१ विरुद्धको खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताएका छन्। मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप कुन–कुन देशबाट कति परिमाणमा आयो भन्ने तथ्याङ्क मन्त्रालयमा रहेको उल्लेख गरे।

उनले भने, ‘कुन प्रदेश र कुन जिल्लामा कति वितरण भयो भन्ने डाटा पनि हामीसँग छ, केन्द्रमा लगाएको तथ्याङ्क हामीसँग छ । अहिले गाउँ–गाउँमा खोप पुर्‍याइएको छ । त्यसको सबै तथ्याङ्क भने आइसकेको छैन ।’

उनले गाउँ–गाउँमा दिइएको खोप दिने टोलीबाट विवरण सङ्कलन भइरहेको बताउँदै वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रमा तथ्याङ्क आउने प्रस्ट पारे । मन्त्री खतिवडाका अनुसार खोप लगाउन आउनेको सङ्ख्या तलमाथि हुँदा पनि यकिन तथ्याङ्क नआएको बताए ।

उनले भने, ‘खोप हराएको वा लुकाएको होइन । एउटा प्याकेटमा १० वटा हुन्छ । कतै सात जना, कतै आठ जनाले लगाउँछन् । दुई–तीनवटा नलगाई स्टोर गर्नुपर्ने हुन्छ । खोपको प्याकेट खोलेपछि निश्चित समयभित्र लगाइसक्नुपर्ने हुन्छ ।’ कतिपय स्थानमा प्रमाणपत्रबिना बुस्टर खोप लगाएका कारण तथ्याङ्क तलमाथि भएको हुन सक्ने उनले बताए । उनले भने, ‘खोप लगाएपछि प्रमाणपत्र दिइन्छ तर कतिपयले कार्ड नदिई पनि खोप लगाएको पाइएको छ । मानवीय पक्षलाई ध्यान दिनैपर्छ । यसो गर्दा पनि रेकर्ड तलमाथि हुन्छ ।’

मन्त्री खतिवडाले प्रमाणपत्रबिना बुस्टर खोप लगाउनेलाई खोप केन्द्रमा गएर सूचीकृत हुन अनुरोध गरेका छन् । मन्त्री खतिवडाले सरकारले कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइरहेकाले कालोबजारी हुने वा लुकाएर बेच्ने सम्भावना नरहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले सबै नागरिकलाई खोप निःशुल्क प्रदान गरिरहेको छ । छिमेकी देश भारतमा पनि निःशुल्क छ । कतै खोप बेच्ने ठाउँ पनि छैन । पैसा तिरेर कसैले लगाउँदैन । खोप छ्याप्छाप्ती छ । त्यसैले कालोबजारी गर्नेले लुकाउने र बेच्ने सम्भावना छैन । ‘

अक्सिजन उत्पादन वृद्धि

खतिवडाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका लहर देखिएपछि देशभर स्वास्थ्य सामग्री र जनशक्ति परिचालन गरिएको बताए। उनले सातै प्रदेशमा रहेका कोभिड अस्पतालमा भेन्टिलेटर, आईसीयू, एनआईसीयू र वार्ड तयार अवस्थामा राखिएको बताए ।

उनले अक्सिजनको उत्पादन वृद्धि गरिएको बताए । उनले भने, ‘डेल्टा भेरियन्ट उत्कर्षमा रहेका बेला २० हजार अक्सिजन सिलिन्डर माग थियो । आपूर्ति गर्न निकै सकस थियो तर अहिले दैनिक २७ हजार पाँच सय सिलिन्डर उत्पादन गर्ने संरचना निर्माण भएको छ । नयाँ लहरविरुद्ध लड्न सरकार जनताको साथमा छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।