काठमाडौं । विश्वव्यापी महामारीका रूप लिइएको कोभिड–१९ र यसका नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि तीव्र रूपमा वृद्धि भएसँगै सरकारले थप कडाइको नीति अघि सारेको छ ।
केही दिनअघि मात्र विद्यालय बन्द गर्नेलगायतका निर्णय गरेको सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आज एक अत्यावश्यक सूचना जारी गर्दै मंगलवार राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।
त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।
त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।
त्यसैगरि, नयाँ आदेशमा संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितीलाई समेत गणपुरक संख्या मान्ने भनिएको छ ।नयाँ आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिती सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु समेत भनिएको छ ।
Comment