गान्सु । चीनमा अचानक मौसम खराब हुँदा एक दौड प्रतियोगितामा कुदिरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार पश्चिमोत्तर चीनको एक पहाडी भेगमा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ व्यक्ति मृतावस्थामा फेला परेका हुन्।
शनिबार दिउँसो १२ बजेपछि येलो रिभर स्टोन फरेस्टमा आयोजित १०० किलोमिटर क्रस कन्ट्री प्रतियोगिताका वेला अचानक तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा, असिना परेर तापक्रम ह्वात्तै घटेको थियो ।
उक्त दौडमा १७२ धावक सहभागी थिए । तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकेर खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको थियो। सहभागीमध्ये एक सय ५१ जना जीवितै भेटिएका छन्, र आठ जना घाइते छन् । उद्धारमा १२ सय जना मानिस परिचालन गरिएको थियो ।
राति पहाडी क्षेत्रमा तापक्रम घटेपछि खोजी कार्य कठिन भएको बाइयिन नगरका प्रमुख झाङ सुचेनले बताएको अलजजिराले उल्लेख गरेको छ । बाढी र पहिरोको जोखिममा रहेको गान्सु मंगोलियासँग सीमा जोडिएको चीनको कम विकसित प्रान्त हो । त्यहाँ ढुंगाका आकर्षक स्तम्भहरुका कारण ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको येलो रिभर स्टोन फरेस्टे पर्यटकका लागि आकर्षणको केन्द्र हो ।
Comment