काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको बताएका छन् ।
शनिवार विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । उनले राजनीतिक विपक्षीहरुले सरकारले कामै गरेर भनेर महामारीबाट लाभ लिने प्रयास गरेको पनि बताए।
‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन। त्यस्तै भएको हो।’
प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टााचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरुको मनोवल गिर्नेतर्फ सचेत रहन पनि प्रधानमन्त्रीले आग्रह गरे।
‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’ प्रधानमन्त्री ओलीले भने, ‘मानवीय रक्षाको लागि गरेका प्रयासहरुलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकाहरुसँग सजग रहेर महामारीबाट जनतालाई बचाउनु पर्दछ।’
प्रधानमन्त्री ओलीले विज्ञहरुलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझाव दिए। ‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हामीसँग यसअघि नभएका प्रणालीहरुलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली कोल्याप्स भएको होइन।’
Comment