धुर्मुस-सुन्तलीले थाले मेची-महाकाली अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । धुर्मुस-सुन्तली फाउण्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मेची-महाकाली अभियान सुरु गरिएको छ । रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि मेची-महाकाली अभियान सुरु गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो अभियान आजदेखि सुरु भएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । उनका अनुसार रङ्गशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरूको घरदैलोमा पुगेर सहयोग सङ्कलन गर्न लागिएको हो ।

‘रङ्गशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ-आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान सञ्चालन गर्न लागिएको हो ।’ फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आज कञ्चनपुरबाट सुरु भएको अभियानमा प्रत्येक जिल्लामा दुई/दुई दिन बसेर त्यहाँ रहेका सहयोगी मनसँग सहकार्य गरी हातेमालो गरिने जनाइएको छ ।

घरदैलो अभियानमा धुर्मुससँगै कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाईँ, अर्जुन भुसाल र जिल्ला स्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल छन् ।

३० हजार दर्शक क्षमताको रङ्गशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको, आमा समूह, महिला समूहको नाममा, टोल विकास संस्था, सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्था, उद्योग, विद्यालय, क्याम्पस, लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।