राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन अझै ६ महिना लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुन अझै ३ देखि ६ महिना लाग्ने भएको छ ।

उपकरण जडान तथा अन्य फिनसिङको काम  लम्बिँदै गर्दा विमानस्थल सञ्चालनमा अझै छ महिना सम्म कुर्नैपर्ने देखिएको छ।

नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हाल उपकरण जडान तथा अन्य फिनिसिङको काम भइरहेको छ । उनले पछिल्लो समय आयोजनामा रनवे लाइट, इलेक्ट्रिक फिटिङ लगायतका कामहरू भइरहेको बताए ।

३ हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिलतर्फको काम सकिएर विद्युतीको काम भइरहेको छ । ‘काम धमाधम भइरहेको छ, सक्दो चाँडो सक्ने गरी काम गरिरहेका छौँ, छिटोमा ३ महिना नत्र ६ महिनासम्ममा निर्माण सम्पन्न हुने छ,’ क्षेत्रीले बताए। ।

उनले निर्माण पछि पनि उडानका लागि इन्टरनेशनल सिभिल कर्पोरेशनसँग छलफल हुने र स्वीकृति पछि उडान गरिने बताए । साइटमा विदेशी जनशक्ति समेत क्रमिक रुपमा आउने क्रममा रहेको उनले बताए ।

विमानस्थल निर्माणका उपकरणहरू जडानका लागि जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनीले लिएको छ । कोभिड १९ को कारण थाइल्याण्ड सरकारबाट लगाइएको यात्रा प्रतिबन्धको कारण कम्पनीले आफ्ना प्राविधिक जनशक्ति पठाएन मानेको थिएन ।

विमानस्थलका निर्माण कार्य सम्पन्न भई हस्तान्तरण हुनासाथ विमानस्थल संचालनका लाथि गर्नुपर्ने विमानस्थल प्रमाणीकरण, यन्त्र उपकरणको क्यलिब्रेसन गरी यथाशिघ्र संचालनमा ल्याउने तयारी भइरहेको छ । उनले जनशक्ति पूरा भए सम्पन्न हुन १ महिना मात्र लाग्ने बताए । उडानका प्रक्रियाहरू धेरै भएकाले निर्माण सम्पन्न भएको ३ महिनामा उडान शुरू गर्न सकिने छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको ८ महिनामा विमानस्थल निर्माण ९५ प्रतिशत हाराहारी मात्र पूरा भएको हो । यसरी हेर्दा चालू आवमा ४ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।

२०१७ को जनवरीसम्ममा २५ प्रतिशत मात्र कार्य सम्पन्न भएको यस आयोजनाले पछिल्लो समय ९५ प्रतिशत हाराहारी कार्य सम्पन्न गरेको हो ।

विमानस्थल निर्माणमा गतिरोध उत्पन्न भए पछि विगतमा एशियाली विकास बैंकले लगानीबाट हात झिकेको थियो । त्यसपछि पुनः गति लिन थालेको विमानस्थल निर्माणमा एशियाली विकास बैंकले फेरि आयोजनामा सहभागीता देखाएको छ ।

प्राधिकरणका अनुसार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावरको काम सकिएको हो ।

हाल धावनमार्ग, टर्मिनल भवनसहितका संरचना बनेर यन्त्र तथा उपकरण जडानको काम भइरहेको छ । विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको छ । जडानका लागि थाइ र चिनियाँ दक्ष कामदार आवश्यक पर्छ । चिनियाँ जनशक्तिहरू कोरोनाको भ्याक्सीन लगाएर आउने प्रक्रियामा रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।