शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गाइडहरुले मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त मानेपछि यो समय आरोहीको भीड लागेको छ। पर्यटन विभागको तथ्याङकअनुसार आइतबारसम्म ३ सय २६ जनाले ११ हिमालको आरोहण अनुमति लिएका छन्। त्यसमध्ये सबैभन्दा धेरैले मनास्लु आरोहणका लागि अनुमति लिएका छन्। यही महिनामात्र मनास्लु आरोहणका लागि २४ आरोहणदलबाट २ सय ३७ ले आरोहणका लागि अनुमति लिएका छन्।

अन्य हिमालमा गृष्म ऋतुमा भीड लाग्ने गर्छ। तर, मनास्लुमा शरद ऋतुमा हिउँ र हावाको वेग कम भई आरोहण सहज हुने भएकाले आरोहीको भिड लाग्ने गरेको आरोही गाइड लाक्पादेण्डी शेर्पाले बताए।

गाइड शेर्पाका अनुसार उत्तर–पश्चिममा अवस्थित मनास्लु हिमाल (८,१६३ मिटर)को मौसम अन्य हिमालकोभन्दा फरक छ। हिउँ बढी हुने र हावाको वेग थाम्न नसक्दा सगरमाथामाजस्तै जेठमा आरोहण गर्न सकिँदैन। भदौ महिनाको अन्तिमदेखि असोज मध्यसम्मको समयमा मनास्लु आरोहण गर्न उपयुक्त हुने उनको भनाइ छ। अन्य समयमाभन्दा त्यो समय मनास्लु क्षेत्रमा कम हावा चल्ने र हिमपात कम हुने हुँदा आरोहण सहज हुने लाक्पाले बताए।

पूर्वी क्षेत्रमा रहेको सगरमाथा, मकालु र कञ्चनजंगालगायत हिमाल आरोहणका लागि जेठ महिना उत्तम मानिन्छ। गृष्म ऋतुमा कम हावा चल्ने र हिमपात कम हुने भएकाले त्यस क्षेत्रका हिमाल आरोहणमा सहज हुने आरोहीको भनाइ छ। जेठमा सगरमाथामा कम हिउँ हुने गर्छ, तर त्यही समय मनास्लुमा धेरै हुन्छ। आरोहीले आरोहण अभ्यास गरेर सफल नहुँदा असोज महिना मनास्लुका लागि उत्तम मान्ने गरिन्छ।

विभागका अनुसार ४४ देशका आरोहीले सगरमाथा, धौलागिरि, ल्होत्से, मकालु, नुप्से, पाङपोचे एक, सिरबुङ, डाँफेसइल, गौगिरि, हिम्लुङ हिमाल आरोहण गर्न अनुमति लिएका छन्। जेठबाहेक अन्य महिनामा आरोहीको सङ्ख्या कम हुने गरेको छ।

सरकारले बाह्रै महिना आरोहण गराउन आमादब्लम हिमालबाहेक अन्य हिमाल आरोहणका लागि राजस्वमा ५० प्रतिशत छुट दिएको छ। हिमालको उचाईअनुसार आरोहीले अनुमति लिएको बढीमा ७५ दिनभित्र आफ्नो आरोहण सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ।

यी हिमालबाट यसै महिना विभागले ३ करोड ६२ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। आरोहीमध्ये २ सय ५८ पुरुष र ६८ महिला रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।