काठमाडौं । नेपालीको महान् पर्व बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंका बसपार्कहरूमा यात्रुको चहलपहल बढ्न थालेको छ। गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरू घर जाने टिकट काट्न लाइनमा बसेका छन्।
अग्रिम टिकट बुकिङ खुला भएसँगै शुक्रबार बिहान ६ बजेदेखि नै नयाँ बसपार्कमा टिकट काट्ने यात्रुको उपस्थिति देखिएको हो। यद्यपि, विगतका वर्षको तुलनामा यसपटक यात्रुको चाप केही कम रहेको यातायात व्यवसायीहरूले बताएका छन्।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालका अनुसार शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप तुलनात्मक रूपमा कम देखिएको हो। शनिबार र आइतबार यात्रुको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ।
भुसालले पहिलो दिनकै आधारमा यात्रुको वास्तविक सङ्ख्या आकलन गर्न कठिन हुने बताउँदै आगामी दिनमा यात्रुको चाप स्पष्ट हुने जानकारी दिए।
यात्रुको सुविधाका लागि अनलाइन र बसपार्कस्थित टिकट काउन्टरबाट टिकट लिन सकिने व्यवस्था मिलाइएको छ। यात्रुको चापअनुसार कर्मचारी परिचालन गरिएको र आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
उनका अनुसार गोंगबु बसपार्कमा सवारीसाधनको अभाव छैन। टिकट बिक्री तथा यात्रु व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरी प्रशासनको निगरानीसमेत गरिएको छ।
दाङ रुटमा यातायात व्यवस्थापन सहज बनाउने प्रयास
यसैबीच, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.लि.ले दशैंमा दाङतर्फ जाने यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवस्थापनलाई सहज बनाउने प्रयास गरेको जनाएको छ।
विगतका वर्षमा सडक तथा यातायात व्यवस्थापनमा समस्या हुने गरेको भए पनि यसपटक यात्रुलाई गन्तव्यसम्म पुर्याउन तुलनात्मक रूपमा सहज भएको सम्बन्धित अधिकारीले बताएका छन्। यात्रुलाई लाइनमा राख्न तथा व्यवस्थापनमा सहयोग गर्न स्वयंसेवकसमेत परिचालन गरिएको छ।
लोत्से बहुउद्देश्यीय संस्थाका महाप्रबन्धक पंकज मल्लको निर्देशनअनुसार असोज २६ गतेदेखि दाङतर्फ जाने बस दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।
यातायात व्यवसायीका अनुसार दशैंका लागि टिकट भाडा वृद्धि गरिएको छैन। राज्यले तोकेको भाडादरभन्दा बढी रकम नलिने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन्।
केही साताअघि आएको बाढीपहिरो तथा वर्षाका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको थियो। अहिले मौसममा सुधार आएसँगै सडक तथा यातायात सञ्चालन पनि सहज हुँदै गएको व्यवसायीहरूले बताएका छन्।
दाङबाट छुटेका बसहरू बिहान करिब ६ बजे काठमाडौं आइपुग्ने गरेको र काठमाडौंवाट छुटेका बससमेत निर्धारित समयअनुसार गन्तव्यतर्फ जाने गरेको उनीहरूको भनाइ छ। यात्रुको चाप अत्यधिक बढेमा थप बस सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
यात्रु भन्छन्—यसपटक टिकट पाउन केही सहज
दशैंमा घर फर्किने यात्रुहरूले यसपटक टिकट बुकिङ तथा यात्रु व्यवस्थापन विगतको तुलनामा केही सहज भएको बताएका छन्।
कालिकोटका कसम विकले यसपटक टिकट पाउन सहज भएको बताए। विगतमा सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने समस्या हुने गरेको उल्लेख गर्दै उनले अहिले त्यस्तो अवस्था कम देखिएको बताए।
यद्यपि, उनले लामो दूरीको बस भाडा महँगो भएको गुनासो गरे। विगतमा करिब २ हजार २०० देखि २ हजार ५०० रुपैयाँसम्ममा यात्रा गरेकोमा अहिले करिब ३ हजार १०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले दशैंमा यात्रुलाई राहत दिन सरकारले भाडादरसम्बन्धी विषयमा पहल गर्नुपर्ने बताए।
त्यस्तै, प्युठानका सुमन थापाले विगतमा प्युठान जाने टिकट पाउन निकै कठिन हुने गरेको भए पनि यसपटक दाङसम्मको टिकट सहजै पाएको बताए।
विगतका वर्षमा एउटै सिटको दोहोरो टिकट काटिने समस्या रहेको उल्लेख गर्दै उनले टिकट नपाउँदा दाङसम्म बस चढेर त्यहाँबाट भालुवाङ हुँदै प्युठान जानुपर्ने अवस्था आउने गरेको बताए। यसपटक भने दाङसम्मको टिकट सहजै पाएकाले घर फर्किन केही सहज भएको उनको भनाइ छ।
दशैं नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या आगामी दिनमा थप बढ्ने अनुमान गरिएको छ। यात्रुको चापअनुसार सवारीसाधन थप्ने, टिकट बिक्री व्यवस्थित बनाउने र तोकिएको भाडादर कार्यान्वयन गर्ने विषयले यस वर्षको दशैं यात्रा कति सहज हुन्छ भन्ने निर्धारण गर्नेछ।




Comment