काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न बडादशैंलाई लक्षित गर्दै नयाँ तथा सुकिला नोट उत्सवका रूपमा साट्ने व्यवस्था नरहेको बताएको छ । तर, आवश्यकताका आधारमा नयाँ नोट सटही भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
विगतका वर्षहरूमा जस्तो तामझाम र उत्सवका रूपमा नभई रसुवा बाढी र गत साताको भारी वर्षाबाट भएको क्षतिलाई मध्यनजर गरी यसपटक देशको विषम परिस्थितिलाई ध्यानमा राखेर आवश्यकताका आधारमा मात्र नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
हालैको बाढीपहिरो र विपद्का कारण नागरिकहरू पीडामा रहेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष औपचारिक सूचना निकालेर उत्सवका रूपमा नोट सटही नहुने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालले बताए । नियमित सटही काउन्टरबाटै सर्वसाधारण तथा सेवाग्राहीलाई आवश्यकताअनुसार नयाँ र सुकिला नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।
‘जसलाई आवश्यकता छ, उहाँहरू राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा गएर नोट साट्न सक्नुहुन्छ,’ कार्यकारी निर्देशक दहालले भने, ‘अहिले राष्ट्र बैंकको काउन्टरमा आउने सर्वसाधारणलाई सकेसम्म नयाँ नोट नै दिइरहेका छौं । तर, ठूलो परिमाणमा माग गर्ने व्यापारीहरू र व्यावसायिक प्रयोजनका लागि भने सुकिला नोट दिने गरिएको छ ।’
उनका अनुसार बैंक तथा वित्तीय संस्था र फाइनान्स कम्पनीहरूलाई पनि राष्ट्र बैंकले आवश्यक नोट पठाइसकेको छ र उनीहरूले आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन् ।
दशैंमा साना दरका नोट कति सटही हुन्छन् भन्ने यकिन तथ्यांक आगामी साताबाट मात्र आउने उनले बताए । ‘सोह्र श्राद्ध सकिएपछि दशैं नजिकिँदै जाँदा सर्वसाधारणको भीड बढ्ने गर्दछ । विगतको प्रवृत्तिलाई हेर्दा यस वर्ष पनि साना दरका करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका नोट बजारमा जाने राष्ट्र बैंकको अनुमान छ,’ उनले भने, ‘दशैंका लागि मुख्यतया ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही हुने गर्दछन् ।’




Comment