काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङमा स्तरोन्नति भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङलाई बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो ।
रेटिङ एजेन्सीका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा भएको तथा मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा लिइन्छ ।
बैंकको पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, सेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ ।
यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।
कामना सेवा विकास बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुसार सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ ।




Comment